कोशी प्रदेश सरकार हाम्रै नेतृत्वमा रहन्छः ओली


१० चैत्र २०७९, शुक्रबार १६:५१ मा प्रकाशित

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश सरकार आफ्नो नेतृत्वबाट बाहिर जान नदिने बताउनुभएको छ ।

झापाको बिर्तामोडमा पार्टीले चलाएको मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिने क्रममा उहाँले कोशी प्रदेश सरकार आफ्नै पार्टीको नेतृत्वमा रहनेगरि समन्वय गर्ने काम भइरहेको बताउनुभएको हो ।

कहिलेकाहिँ आफ्नै पार्टीका उम्मेदवारलाई मात्र भोट नदिएर अन्य पार्टीलाई समर्थन गर्नुपर्ने कारण यही भएको ओलीले बताउनुभयो । राप्रपालाई साथ लिएकाले अहिले एमालेलाई चाहिएका बेला राप्रपा एउटा शक्ति भएर निस्किएको ओलीको भनाइ थियो ।

झापाको क्षेत्र नं ३ मा एमालेकै कार्यकर्ताले नेपाली कांग्रेसबाट पैसा लिएर कांग्रेसका उम्मेदवारलाई भोट हालेको ओलीले दाबी गर्नुभयो । एमाले अध्यक्ष ओलीले प्रदेश १ को नाम कोशी राखिएकोमा प्रदेश सरकारलाई धन्यवाद दिनुभयो ।

उहाँले नामप्रति असन्तुष्टि जनाउनेलाई सम्झाइबुझाइ गर्न आग्रह गर्नुभयो । नेकपा एमालेले अहिले कार्यकर्ताको भाव बुझ्न मिसन ग्रासरुट अभियान चलाएकाले नैतिकता प्रदर्शन गरेर कार्यकर्ताकहाँ पुग्न ओलीले स्थानीय नेताहरूसंग आग्रह गर्नुभयो ।

मिसन ग्रासरुट आगामी निर्वाचनमा एमालेलाई स्पष्ट बहुमत आउनेगरि जनतालाई पार्टीमा आकर्षित गर्न सञ्चालन गरिएको अभियान भएको ओलीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here