राष्ट्रिय सरोकारका विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको देउवाको भनाइ


६ चैत्र २०७९, सोमबार १५:५३ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले राष्ट्रिय सरोकारका विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावको छलफलका क्रममा देउवाले देशका कतिपय राष्ट्रिय सरोकारका विषयमा सबैले साँझा धारणा निर्माण गर्न आवश्यक रहेको र विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको हो ।

महत्वपूर्ण तथा राष्ट्रिय सरोकारका विषयमा सत्ता पक्ष वा प्रतिपक्ष सबै राजनीतक दलहरुबीच सम्वाद, सहमति र सहकार्यको मार्ग अवलम्बन गर्न कांग्रेसको दृढ मत रहेको उहाँले बताउनुभयो ।

उहाँले मिश्रित निर्वाचन प्रणालीका कारण कुनै एक मात्र दलले प्रतिनिधि सभामा बहुमत ल्याउन सक्ने अवस्था प्राय: नहुने भएको हुँदा गठबन्धनको संस्कृतिलाई आत्मसात गर्नुपर्ने जिकिर गर्नुभयो । देश र जनताको पक्षमा, संविधानको रक्षा गर्ने र देशमा स्थिरता, अमन चयन, शान्ति र विकासका लागि गठबन्धन केन्द्रित हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।

उहाँले अब दलहरुको ध्यान राजनीतिक वाद विवाद र आरोप प्रत्यारोपमा मात्र केन्द्रीत गर्न नहुनेमा जोड दिनुभयो । देशको बिग्रदो आर्थिक अवस्थालाई सुधार गर्न सरकारले विषेश ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो ।

देउवाले अर्थतन्त्रलाई उकास्ने नीति, योजना र कार्यान्वयनको ठोस प्रतिवद्धताको आवश्यकता रहेको र शान्ति प्रकृयाका बाँकी कामहरुलाई छिटै तार्किक निष्कर्षमा पुराउनुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here