काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले राष्ट्रपतिले आफूलाई दलीय संरचनाबाट अलग राख्दै देश र नागरिकको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपति पदका लागि भएको चुनावमा मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले नयाँ निर्वाचित हुने राष्ट्रपतिले दलबाट अलग भएर मन, वचन र कर्मले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रपति दलबाट अलग हुन नसके राष्ट्रपति पदलाई नै न्याय नहुने उहाँको भनाइ छ ।
‘लामो समय लोकतान्त्रिक आन्दोलनमा सङ्घर्ष गर्नुभएका रामचन्द्र पौडेल आज राष्ट्रपति पदमा निर्वाचित हुने करिब निश्चित छ’, उहाँले भन्नुभयो, ‘यसअघिका राष्ट्रपतिबाट भएका कमजोरीबारे उहाँ जानकार हुनुहुन्छ । त्यसैले पनि उहाँ सुरुमा पार्टीबाट मन, वचन र कर्मले अलग हुनुपर्छ ।’
नयाँ निर्वाचित हुने राष्ट्रपतिलाई आफू अनुकूल संविधानको व्याख्या नगर्न महामन्त्री थापाले आग्रह गर्नुभयो ।
लामो समय पार्टीमा काम गर्नुभएका उहाँले नेपाली कांग्रेसलाई मनबाट निकालेर काम गर्न सक्नुभएन भने राष्ट्रपति पदलाई न्याय गर्न सक्नु हुन्न’, उहाँले भन्नुभयो ।
देशको तेस्रो राष्ट्रपति चयनका लागि अहिले मतदान भइरहेको छ ।
दिउँसो ३ बजे मतदान कार्य सम्पन्न भएसँगै मतगणना सुरु गर्ने र बेलुका ८ बजेभित्र परिणाम घोषणा गर्ने निर्वाचन आयोगको तयारी छ ।






