नेपाल आयल निगमले शुक्रवारदेखि देशभर ग्यास अभाव हटाउन आधा भरिएको सिलिण्डर बजारमा पठाउन शुरु गरेको छ ।
देशमा ग्यास आयात खपत अनुसार नै भइरहे पनि उपभोक्तामा फैलिएको त्रासका कारण ग्यास सञ्चिति बढ्दा बजारमा वितरणमा समस्या देखिएपछि निगमले आधा भरीका सिलिण्डर बजारमा पठाएको हो ।
निगमका प्रवक्ता मनोज ठाकुरकाअनुसार सुरुमा चुनावको सन्दर्भलाई लिएर ग्यासको आपूर्तिमा समस्या हुनसक्ने आशंकाले उपभोक्ताले ग्यास जोहो गरेको र अहिले झन सञ्चिति गर्ने क्रम बढ्दा अभाव चर्किंदै गएको बताउनु भयो ।
उहाँकाअनुसार शुरुमा एक–दुई वटा कम्पनीको मात्रै ग्यास अभाव भएपनि अहिले अरु ग्यासहरुपनि नपाइने स्थीति आएपछि त्यसलाई सहजीकरण गर्न आधा सिलिण्डर बजारमा पठाइएको हो ।
निगमकाअनुसार देशमा ग्यास आयात भने खपत अनुसार नै भइरहेको छ । गत पुस महिनामा ४७ हजार मेट्रिक टन ग्यास आयात भएको थियो भने माघ महिनामा करिव ४६ हजार मेट्रिक टन ग्यास आयात गरिएको छ ।
नेपालको मासिक खपत करिव ४५ देखि ४६ हजार मेट्रिक टन ग्यास रहेको निगमले ठाकुरले जानकारी दिनुभयो । उहाँकाअनुसार यो महिनामा मात्रै फागुन २६ गतेसम्म करिव साढे ४६ हजार मेट्रिक टन ग्यास आयात भइसकेको छ ।
तर उपभोक्ताले सहज रूपमा ग्यास नपाएपछि समस्या समाधानका लागि निगमले बृहत छलफल गरेर आधा सिलिण्डर ग्यास वितरण गर्ने निर्णय गरेको ठाकुरको भनाइ छ ।
ठाकुरकाअनुसार ग्यासको अभावको असर विशेषगरी हुनेखानेभन्दा विद्यार्थी र मजदुर वर्गमा बढी देखिएको छ ।
उनीहरूलाई एउटा ग्यास सिलिण्डर पाउन महिनौँ कुर्नुपर्ने अवस्था देखिएपछि उक्त समस्या समाधानका लागि ७.१ केजी ग्यास भरेर वितरण गर्ने निर्णय गरि कार्यान्वयनमा ल्याइएको छ ।
ठाकुरकाअनुसार यसअघि पूर्ण सिलिण्डर ग्यासको मूल्य १ हजार ९ सय १० रुपैयाँ रहेकोमा अब आधा सिलिण्डर अर्थात ७.१ केजी ग्यासको मूल्य ९५५ रुपैयाँ तोकिएको छ । युद्धका कारण अहिलेसम्म ग्यास तथा इन्धन आयातमा कुनै समस्या नआएको निगमको भनाइ रहेको छ ।






