प्रथम महिला राष्ट्रपतिको रुपमा बिद्यादेवी भण्डारीले सफलतापूर्वक नेतृत्व सम्हालेको एमालेका अध्यक्ष ओलीकाे दाबी


२४ फाल्गुन २०७९, बुधबार १७:०९ मा प्रकाशित

काठमाण्डाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको इतिहासमा प्रथम महिला राष्ट्रपतिको रुपमा बिद्यादेवी भण्डारीले सफलतापूर्वक नेतृत्व सम्हालेको बताउनुभएको छ ।

११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसमा अखिल नेपाल महिला संघले बुधबार ललितपुरको च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले बिभिन्न आन्दोलनबाट अगाडी आएको नेतृ भण्डारीले देशलाई सात वर्षसम्म राष्ट्रप्रमुखको हैसियत सफलतापूर्वक नेतृत्व गरेको बताउनुभएको हो ।

उहाँले कहिलेकाही राजनीतिक स्वार्थ प्रेरितहरुले आफ्नो स्वार्थमा कतै ठेस लाग्दा र स्वार्थ पुरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहोदाको मर्यादा नगरेर बकवास गरेकाले त्यसको कुनै अर्थ नरहेको धारणा राख्नुभयो ।

ओलीले सफल सहि र उत्कृष्ठ मर्यादालाई बिचार गरेर राष्ट्रपति भण्डारीलाई जनताले दोश्रोपटक राष्ट्रपति बनाएको जिकिर गर्नुभयो । उहाले नेपालमा महिला सशक्तीकरणको क्षेत्रमा धेरै काम भएको र महिलाहरु मुलुकको उच्च ओहोदामा पुगेको बताउनुभयो ।

नेपालमा अव महिला प्रधानमन्त्री हुन मात्र बाँकी रहेकाले अनुभव, प्रतिष्पर्धा र क्षमताका आधारमा सो पदमा पुग्न सकिने उहाले बताउनुभयो ।

ओलीले अवको युगमा महिला पछिपर्नुपर्ने कुनै कारण नै नरहेको भन्दै लैंगिक समानताका आधारमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाको सहभागिता र नेतृत्व विश्वकै लागि अनुसरणीय रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here