जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषद्वारा चार प्रतिभा पुरस्कृत


६ फाल्गुन २०७९, शनिबार १६:१९ मा प्रकाशित

झापा । जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषले चार जना प्रतिभालाई पुरस्कृत गरेको छ ।

शनिवार झापाको बिर्तामोडमा आयोजित विशेष समारोहमा उनीहरूलाई पुरस्कृत गरिएको हो । २०७८ सालमा प्रकाशित कृतिहरु मध्येबाट बसन्त बस्नेतद्वारा लिखित ‘महाभारा’ लाई बर्षोत्कृष्ट कृतिका रुपमा छनौट गरेर पुरस्कृत गरिएको हो ।

कृतिका लेखक बस्नेतलाई नगद २५ हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो । विष्णुचन्द्र पद्मा बिशेष प्रतिभा पुरस्कार कलाकार तथा प्राज्ञ पवन राजवंशीलाई प्रदान गरिएको हो । उहाँलाई पनि नगद २५ हजार र सम्मानपत्र प्रदान गरिएको थियो ।

धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कारबाट ग्यालेक्सी फोर ‘के’ टेलिभिजनमा कार्यरत वरिष्ठ संवाददाता सिर्जना घिमिरेलाई नगद २५ हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

यसैवर्षदेखि स्थापना गरिएको फरक क्षमता भएका व्यक्तिलाई प्रदान गरिने पुरस्कारबाट दृष्टिबिहिन शिक्षक चन्द्रप्रसाद भट्टराईलाई प्रदान गरिएको हो । भट्टराईलाई नगद ११ हजार तथा सम्मान पत्र प्रदान गरेर सम्मानित गरिएको थियो ।

कोषका संस्थापक अध्यक्ष गोपीकृष्ण प्रसाईं, प्रमुख अतिथि कोमलप्रसाद पोखरेल तथा अन्य अतिथिहरूले पुरस्कृत प्रतिभाहरूलाई सम्मान गरेका थिए । उत्कृष्ट कृति तथा प्रतिभा छनोटका लागि कृतितर्फ कोषका उपाध्यक्ष विष्णुकुमार भट्टराईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो भने बिष्णु चन्द्र पद्मा बिशेष प्रतिभा पुरस्कारका छनौटका लागि कोषका अध्यक्ष प्रसाई संयोजक रहेको समिति तथा धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कार छनौटका लागि लोकराज ढकाल र फरक क्षमता भएका व्यक्तिका लागि प्रदान गरिएको पुरस्कार छनोटका लागि खिलप्रसाद शिवाकोटीको संयोजकत्वमा गठित समिति गठन गरिएको थियो ।

२०५९ सालमा स्थापित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले शुरुमा बर्षोत्कृष्ट कृति पुरस्कार प्रदान गरेको थियो । दुई दशकको अवधिमा संस्थाले पुरस्कारको विधा र राशी बढाउँदै लगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here