झापा । प्रदेश १ मा सरकार गठनको विषयमा दलहरु छुट्टाछुट्टै छलफलमा जुटेका छन् ।
प्रदेश १ मा केन्द्रमा भएको गठबन्धनअनुसार नै सरकार बनाउने गरी दलहरुबीच छलफल भइरहेको हो ।
नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दलहरुबीच छुट्टाछुट्टै छलफल भइरहेको जानकारी दिनुभयो ।
केन्द्रको गठबन्धन गरेका दलहरुकै नेतृत्वमा सरकार बन्ने भएको कारण उहाँहरुसँग छलफल भइरहेको उहाँको भनाइ छ ।
यता, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले छुट्टाछुट्टै अनौपचारिक छलफल भएपनि संयुक्त ढंगले छलफल सुरु नभएको बताउनुभयो ।
प्रदेश १ मा सत्ता गठबन्धन दल नेकपा (एमाले)सँग ४० जना सांसद छन् ।
यस्तै माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० जना रहेका छन् ।
प्रदेश १ सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी पुस २४ गते साँझ ५ बजेसम्मका लागि समयसीमा दिनुभएको छ ।






