काठमाडौं । वागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली काँग्रेसका नेता बहादुर सिंह लामाले निर्माण व्यवसायीका समस्या समाधानका लागि राज्यले बनाउने कानून नै सबैभन्दा महत्वपूर्ण हुने बताउनुभएको छ ।
निर्माण व्यवसायी महासंघको चुनावी सरगर्मीका बीच आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राज्य र व्यवसायीबीच हुने सम्झौता ‘विन–विन’ (दुवै पक्षलाई फाइदा हुने) अवस्थामा हुनुपर्नेमा जोड दिनुभएको हो ।
उहाँले इजरायल र इरानबीचको द्वन्द्वका कारण पेट्रोलियम पदार्थ र निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले ठेक्का लिइसकेका व्यवसायीहरूलाई ठूलो आर्थिक भार परेको उल्लेख गर्दै यसलाई सम्बोधन गर्न कानून नै परिवर्तन गर्नुपर्ने बताउनु भयो ।
उहाँले आफू पनि निर्माण व्यवसायीकै पृष्ठभूमिबाट राजनीतिमा आएको स्मरण गर्दै महासंघमा आफूले सह–कोषाध्यक्ष, कोषाध्यक्ष र उपाध्यक्षका रूपमा काम गरिसकेको बताउनु भयो । उहाँले निर्माण व्यवसाय इन्जिनियरिङ, प्रविधि र विज्ञानसँग जोडिएको विषय भएकोले यसलाई बुझ्ने प्राविधिक र सक्षम नेतृत्व आवश्यक रहेको बताउनु भयो ।
आफू वागमती प्रदेशको आर्थिक मामिला मन्त्री र मुख्यमन्त्री हुँदा निर्माण व्यवसायीको मर्का बुझेर काम गरेको उहाँले उल्लेख गर्नुभयो । सरकारले निर्माण व्यवसायीलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक हुन नसकेको गुनासो गर्दै उहाँले व्यवसायीहरू आफैँ सक्षम र एकतावद्ध हुनुपर्ने बताउनु भयो ।
व्यवसायीहरूले कोषमा जम्मा गरेको रकमलाई उनीहरूकै क्षमता अभिवृद्धि र प्रविधि भित्र्याउन उपयोग गर्नुपर्ने उहाँको सुझाव छ । उहाँले सम्पूर्ण निर्माण व्यवसायीहरूलाई आगामी अधिवेशनमा एकतावद्ध भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।






