नेपाली काँग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले निर्वाचनपछि संसदमा उपस्थिति न्युन भएपनि प्रभावकारी भुमिका निर्वाह गर्न सांसदहरुलाई आग्रह गर्नुभएको छ ।
सोमवार नवनिर्वाचित सांसदहरुलाई बधाई दिन आयोजित कार्यक्रममा उहाँले पार्टीको इतिहास, आदर्श र जनताको हितलाई केन्द्रमा राखेर संसदमा आफ्नो भुमिका निर्वाह गर्न आग्रह गर्नुभएको हो । उहाँले संविधान संशोधनको मुद्दा उठेकोले संसदमा प्रवेश गर्नसक्ने बताउनु भयो ।
उहाँले पार्टीका सांसदहरूलाई राष्ट्रियता, स्वाभिमान र संविधानका मौलिक अधिकारमा कुनै सम्झौता नगर्न आग्रह गर्नुभयो । संविधान संशोधनको विषय आफूहरुले पनि उठाएको भएपनि त्यसमा प्रगति हुन नसकेको उहाँको भनाई छ । उहाँले संविधान संशोधन जनताको हितलाई केन्द्रमा राखेर हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले लोकतान्त्रिक आन्दोलनको विरासत बोकेको काँग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको रक्षा, कार्यान्वयन र नागरिक अधिकारको सुनिश्चिततामा दृढतापूर्वक उभिने स्पष्ट पार्नुभयो । संख्या कम भएपनि वैचारिक बल र ऐतिहासिक जिम्मेवारी काँग्रेसको ठूलो रहेको उहाँको भनाई छ ।
उहाँले सांसदहरुलाई जनताको पक्षमा दरिलोसाथ संसदमा प्रश्तुत हुन पनि निर्देशन दिनुभयो । संसदमा चाहिने आवश्यक ज्ञान र सहयोग दिन आफूहरु तयार रहेको पनि उहाँको भनाई छ । उहाँले राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यका बीचमा एकता कायम राखेर अगाडी बढ्न पनि आग्रह गर्नुभयो ।






