Monday, 09 November 2026
Suryodaya Online
२३ कात्तिक २०८३, सोमबार
विज्ञापन

गाईलाई पूजा र मीठा परिकार खुवाएर मनाइँदै गाई तिहार

Suryodaya Online TV

काठमाडौं । तिहारको महत्त्वपूर्ण दिन गाई तिहार आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। हिन्दू धर्मावलम्बीहरूले गाईलाई माता, लक्ष्मीको स्वरूप र समृद्धिको प्रतीक मानेर पूजा गर्ने परम्पराअनुसार यो पर्व मनाउने गर्छन्।

गाई तिहारका दिन बिहानै गाईलाई नुहाइदिने, सिङमा तेल लगाउने, गलामा माला पहिर्‍याउने र निधारमा टीका लगाएर पूजा गर्ने चलन छ। त्यसपछि गाईलाई मिठा परिकार तथा मनपर्ने खानेकुरा खुवाएर सम्मान गरिन्छ।

धार्मिक विश्वासअनुसार गाईमा ३३ कोटी देवीदेवताको बास हुन्छ। गाईको पूजा गर्नाले पुण्य प्राप्त हुने र परिवारमा सुख, शान्ति तथा समृद्धि कायम हुने जनविश्वास छ। हिन्दू संस्कारमा जन्मदेखि मृत्युसम्मका विभिन्न धार्मिक कर्ममा समेत गाई र गाईबाट प्राप्त वस्तुको प्रयोग हुँदै आएको छ।

गाईलाई धार्मिक आस्थासँगै मानव जीवनको उपयोगी साथीका रूपमा पनि लिइन्छ। दूध, दही, घिउजस्ता पोषिला खाद्यवस्तु उपलब्ध गराउने गाईको गोबर खेतीपातीका लागि प्राङ्गारिक मलका रूपमा प्रयोग हुन्छ। परम्परागत नेपाली समाजमा गाईलाई घरपरिवार र कृषि जीवनको अभिन्न अंग मानिँदै आएको छ।

तिहारमा गाईको पूजा गर्ने परम्पराले मानिसले आफूलाई सहयोग पुर्‍याउने पशुपन्छीप्रति सम्मान र कृतज्ञता व्यक्त गर्नुपर्ने सन्देश पनि दिन्छ। धार्मिक विधि र सांस्कृतिक परम्परासँग जोडिएको गाई तिहारले नेपाली समाजमा पशुप्रतिको आत्मीयता र सहअस्तित्वको महत्त्वलाई उजागर गर्दै आएको छ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private