Monday, 09 November 2026
Suryodaya Online
२३ कात्तिक २०८३, सोमबार
विज्ञापन

आज तिहारको विशेष दिन ः कुकुरको बफादारीदेखि लक्ष्मीको आराधनासम्म,

Suryodaya Online TV

काठमाडौं । तिहारको उल्लाससँगै आज बिहान कुकुरको पूजा र साँझ धनधान्यकी देवी लक्ष्मीको आराधना गरिँदैछ। तिथि घटबढका कारण यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको हो।

हिन्दू धर्ममा कुकुरलाई यमराजको दूतका रूपमा मानिन्छ। धार्मिक मान्यताअनुसार यमराजका द्वारपाल श्याम र सबल नामका कुकुर हुन्। उनीहरूलाई प्रसन्न पार्न कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गर्ने परम्परा रहेको छ।

कुकुर मानिसको सबैभन्दा विश्वासिलो र बफादार साथीका रूपमा पनि परिचित छ। घरको सुरक्षा, अपराध अनुसन्धानदेखि उद्धार कार्यसम्म कुकुरले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। यही निष्ठा र योगदानको सम्मानस्वरूप आज कुकुरलाई माला लगाइदिने, निधारमा टीका लगाउने र मीठा परिकार खुवाउने गरिन्छ।

महाभारतको स्वर्गारोहण पर्वमा पनि कुकुरको निष्ठासम्बन्धी प्रसङ्ग उल्लेख छ। स्वर्ग जाने क्रममा युधिष्ठिरलाई अन्तिमसम्म साथ दिएको कुकुरलाई त्याग्न उनले अस्वीकार गरेका थिए। यस कथाले कुकुरको स्वामीभक्ति र मानवीय करुणाको सन्देश दिन्छ।

बिहान कुकुरको पूजा गरेपछि साँझ घरघरमा लक्ष्मीपूजाको तयारी गरिन्छ। धन, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको स्वागतका लागि घर, आँगन तथा व्यापारिक प्रतिष्ठान सफा गरेर दियो र बत्तीले सजाउने चलन छ।

लक्ष्मीपूजाका दिन घरको मूलढोकादेखि पूजाकोठासम्म चामलको पिठो र अबिरले लक्ष्मीको पाइला बनाउने गरिन्छ। साँझ दीप प्रज्वलन गरी घरमा लक्ष्मीको आगमन र सुखसमृद्धिको कामना गरिन्छ। कतिपयले घरको मूलढोकामा रंगोली बनाएर फूलमालाले सजाउने गर्छन्।

लक्ष्मीपूजामा धनसम्पत्ति, गरगहना, नगद तथा व्यापारिक हिसाबकिताब राख्ने स्थानमा विशेष पूजा गरिन्छ। व्यापारी तथा व्यवसायीले आफ्नो प्रतिष्ठानमा लक्ष्मीको आराधना गर्दै व्यवसायमा प्रगति र आर्थिक उन्नतिको कामना गर्छन्।

कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ। यस रात घरघरमा दियो बाल्ने, झिलिमिली बत्ती लगाउने र दीपावली गर्ने परम्परा छ। परिवारका सदस्य भेला भएर पूजा आराधना गर्ने र एकअर्कासँग खुसी साटासाट गर्ने चलनले तिहारलाई थप आत्मीय बनाउँछ।

तिहार केवल धन र समृद्धिको कामना गर्ने पर्व मात्र होइन, जीवजन्तुप्रतिको सम्मान, निष्ठा, पारिवारिक सम्बन्ध र सामाजिक सद्भावको सन्देश दिने सांस्कृतिक पर्व पनि हो।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private