इलाम । इलामको सूर्योदय नगरपालिका–५ समालबुङमा टोलस्तरीय गायन तथा नृत्य प्रतियोगितासँगै उत्कृष्ट कृषक सम्मान कार्यक्रम सम्पन्न भएको छ।
श्री समालबुङ युनाइटेड क्लबको आयोजनामा समालबुङ माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित कार्यक्रममा विभिन्न टोलका सहभागीबीच गायन तथा सामूहिक नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो। सोही अवसरमा कृषि तथा पशुपालन क्षेत्रमा योगदान पुर्याउने छ जना उत्कृष्ट कृषकलाई सम्मान गरिएको हो।
प्रतियोगिताअन्तर्गत सामूहिक नृत्यतर्फ शान्तिधारा टोल विकास संस्था प्रथम, झुल्केघाम टोल दोस्रो र रोड टोल तेस्रो भएका छन्। त्यस्तै, गायनतर्फ शान्तिधारा टोल विकास संस्थाकी वन्दना राई प्रथम, अन्तुडाँडा टोलका अनुपम दियाली दोस्रो र समावेशी उदय टोलका अनिस लोहार तेस्रो भएका छन्।
कृषक सम्मानतर्फ अलैँची खेतीमा उत्कृष्ट योगदान पुर्याउने बोइटोटोलका रोज राई, मौरीपालनतर्फ रोडटोलका हर्कध्वज तामाङ, गाईपालनतर्फ बोइटोटोलका कृष्ण राई सम्मानित भएका छन्। त्यसैगरी कुखुरापालनतर्फ बोइटोटोलका दावादोर्जे तामाङ, लोकल कुखुरा तथा बङ्गुरपालनतर्फ ओरन्ज थ्याली टोलका अरुण राई र बाख्रापालनतर्फ रोडटोलका विनोद तामाङ सम्मानित भएका हुन्।
कार्यक्रमका प्रमुख अतिथि उर्गेन बोम्जन रहेका थिए। विशेष अतिथिका रूपमा सूर्योदय नगरपालिकाकी कार्यपालिका सदस्य केशरकुमारी तिम्सिना, वडा सदस्य आकाश लेप्चा र हिलालचन्द्र लिम्बूलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, टोल विकास संस्थाका अध्यक्ष, सामाजिक अगुवा, सुरक्षाकर्मी तथा स्थानीयवासीको समेत सहभागिता रहेको थियो।
कार्यक्रममा विद्यामन्दिर बोर्डिङ स्कुलका प्रिन्सिपल सन्तोष खापुङले स्वागत मन्तव्य राखेका थिए भने विद्यालयका विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए।
क्लबका अध्यक्ष विनोद प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका सचिव अनिल लिम्बू र सूर्योदय टेलिभिजनकी सविना लिम्बूले गरेका थिए। प्रतियोगिताको नतिजा सार्वजनिक तथा पुरस्कार वितरणको तयारीका क्रममा स्थानीय कलाकार दीपचन्द दियालीले सांगीतिक प्रस्तुति दिएका थिए। पुरस्कार वितरणपछि सामूहिक देउसीभैलो प्रस्तुत गर्दै कार्यक्रम समापन गरिएको थियो।