झापा । निर्वाचनको मौनअवधि र मतदानको अवधिमा मिडिया र मिडियाकर्मीको भूमिका महत्वपूर्ण हुने भएकाले वाच डगको भूमिका निर्वाह गर्न झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले बताउनुभएको छ ।
मंसीर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधि तथा मतदानका दिन मिडियाले ‘वाच डग’ र सशक्त खबरदारी गर्नुपर्नेमा मुख्य निर्वाचन अधिकृत ज्ञवालीले बताउनुभयो । शुक्रबार झापाको बिर्तामोडमा मिडियाकर्मीसंगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले निर्वाचनलाई विश्वसनीय र व्यवस्थित रुपमा सम्पन्न गर्न आचारसंहिताको पालनामा जोड दिनुभयो । आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा मिडियाको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।
ज्ञवालीले झापामा निर्वाचन सम्बन्धी सूचनालाई मिडियामा छिटो र सहज रुपमा सम्प्रेषण गर्ने संयन्त्रको विकास गर्ने बताउनुभयो । उहाँले मौनअवधिको पूर्ण पालना गरी निर्वाचनलाई सफल बनाउन सबैमा अपिल समेत गर्नुभयो । झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्वाचन सम्पन्न गर्न मिडियाले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले झापामा शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको बताउनुभयो । प्रजिअ रिजालले मिडियाकर्मीलाई निर्वाचनमा सहयोगी भूमिका निर्वाह गर्न आग्रह गर्दै प्रेस पास र सवारी साधनको दुरुपयोग हुन नदिन सजग समेत गराउनुभयो ।
जिल्ला निर्वाचन आचारसंहिता अनुगमन अधिकारी मधु पोखरेलले आचारसंहिता कार्यान्वयनमा मिडियाको भूमिका बारे प्रष्ट्याउँदै झापामा आचारसंहिताका कार्यान्वयनको अवस्था विगतभन्दा राम्रो रहेको बताउनुभयो । झापाका प्रहरी प्रमुख विश्वमणि पोखरेलले सबै मतदान केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था मजबुद बनाएको बताउनुभयो ।
निर्वाचन कार्यालय झापाका प्रमुख जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जिल्लामा निर्वाचनको सबै तयारी पूरा भएको बताउनुभयो । उहाँले सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित मतदान अधिकृत र कर्मचारीहरु पुगिसकेको बताउनुभयो । मौन अवधिमा राजनीतिक दल तथा सबै सरोकारवालाले पालना गर्नुपर्ने आचारसंहिता बारे मिडियाले खबरदारी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।