मेचीनगर । आइतबार हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावलाई ध्यानमा राखेर बिहीबार राति १२ बजेदेखि नै नेपाल-भारत सीमानाका बन्द गरिएपछि शुक्रबार विहान नेपाल भारत जोड्ने मेची पुलमा आवतजावत गर्ने सर्वसाधारणको भीड लागेको छ ।
औषधि उपचार गर्न हिँडेका, तथा आँखाको उपचारका लागि नेपाल आएर भारततर्फ फर्कन लागेका, हवाईजहाज र रेलको टिकट बोकेका, भारतीय सेनामा कार्यरत नेपालीहरुको भीड लागेको हो ।
चुनावलाई ध्यानमा राखेर नेपाल-भारत सीमानाका बन्द गरिएपछि आवतजावतमासमेत समस्या भएको थियो ।
मतदान नसकिएसम्म नाकाहरू बन्द हुने गृह मन्त्रालयले जनाएको छ । पूर्वी नाका काँकरभिट्टा नाका भारतको पश्चिम बंगाल राज्यको पानीट्याँकीस्थित रानीगञ्ज नाकासँग सीमा जोडिएको छ ।
भारतसँग नेपालको खुला सिमाना १ सय ४४ दशमलव शुन्य २ किलो मिटर रहेको छ भने मेचीनगर नगरपालिकाक्षेत्रको ३४ किलो मिटर खुला सीमाना छ ।