ओली आजै झापा आइपुग्ने, भोली इट्टाभट्टा र गौरीगञ्जमा सम्बोधन गर्ने


३० कार्तिक २०७९, बुधबार ११:४४ मा प्रकाशित

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् एमालेका तर्फबाट प्रधानमन्त्रीमा प्रस्ताव गरिएका केपी शर्मा ओली आज झापा आउनु हुने भएको छ । उदयपुर र सुनसरीको सभा सकेर ओली साँझ दमक आइपुग्ने बताइएको छ । झापा-१ र ५ को वृहत चुनावी सभालाई सम्बोधन गर्न ओली झापा आउने पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीले जानकारी दिनुभयो ।

भोलि मंसिर १ गते मेचीनगर र गौरीगञ्जको चुनावी सभालाई सम्बोधन गर्न आउने निश्चित भएको छ । नेकपा एमालेले बिहीवार मेचीनगर ७ इटाभट्टामा झापा-१ क्षेत्रीय आमसभाको आयोजना गरेको पार्टीका क्षेत्रीय कमिटी संयोजक टिकाराम मग्रातीले जानकारी दिनुभयो । यस्तै, गौरीगञ्जमा समेत चुनावी सभा आयोजना गरिएको नेकपा एमाले झापाले जनाएको छ ।

मंग्रातीका अनुसार इटाभट्टाको नगरपालिका जाने बाटो पूर्व खाली चौरमा आमसभा हुनेछ । सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली विहान १०ः३० बजे आउने हुनुभएको छ । गौरीगञ्जमा १ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

झापा-१ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यमा पार्टीका स्थायी कमिटी सदस्य अग्नि खरेल, प्रदेश १ मा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज रविन कोइराला र प्रदेश २ मा तालमेलका आधारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सबिना बजगाई उम्मेद्वार रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here