हरिबोधिनी एकादशी, घर घरमा तुलसीको पूजा र विवाह गरी मनाइयो


१८ कार्तिक २०७९, शुक्रबार १४:२६ मा प्रकाशित

झापा । कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधिनी एकादशी, घर घरमा तुलसीको पूजा र विवाह गरी मनाइएको छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको हरिबोधिनी एकादशीमा विवाह गरिदिने धार्मिक चलन रहेको छ । आषाढ शुक्ल एकादशीका दिन घरको मोठमा रोपी पूजा सुरु गरिएको तुलसीको विवाह दामोदरसँग गरिदिने प्रचलन छ । तुलसीको मठमा विधिपूर्वक पूजासहित हवन गरेपछि चतुर्मास व्रत समाप्त हुने शास्त्रीय वचन रहेको छ । हरिबोधिनी एकादशीका दिन शुक्रबार बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको थियो । हरिबोधनी एकादशीलाई वर्षभरिका एकादशीहरूमा सबैभन्दा महत्वपूर्ण मानिन्छ । हरिशयनी एकादशीका दिन छिरसागरमा शयन गरेका भगवान विष्णु हरिबोधिनी एकादशीका दिन उठ्ने धार्मिक विश्वास पनि छ । त्यसैले विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको हो । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्ने गर्दछन् । भगवान विष्णु शयन गर्ने भएकाले बितेका चार महिनामा विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य गर्न नहुने मान्यता छ । हरिबोधिनी एकादशीका दिन भगवान विष्णुले माता तुलसीको प्रार्थना सुनेको र यसै प्रार्थनाको प्रभावले निन्द्राबाट ब्यूँझिएको धार्मिक कथन छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको बताइन्छ ।यस दिन अन्न खान नहुने भएकाले सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here