शिक्षा, स्वास्थ्य, रोजगारीमा उल्लेख्य काम गर्ने कांग्रेस नेता प्रकाशमान सिंहको प्रतिबद्धता


१८ कार्तिक २०७९, शुक्रबार १४:१२ मा प्रकाशित

झापा । नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका साझा उम्मेदवार प्रकाशमान सिंहले आफू निर्वाचित भए शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रमा उल्लेख्य रुपमा काम गर्ने बताउनुभएको छ । शुक्रबार मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसमा सदस्यको निर्वाचनलाई लक्षित गर्दै पुरानोबानेश्वरबाट चुनावी घरदैलो अभियान सुरु गर्दै नेता सिंहले सो कुरा बताउनुभएको हो । उहाँले काठमाडौं क्षेत्र नम्बर १ शिक्षाको हब भएकाले समयको माग बमोजिम शिक्षाको नीतिमा परिवर्तन गर्दै हाल नीजि र सामुदायिक विद्यालयबीच शिक्षाको गुणस्तरमा भएको शैक्षिक अन्तरलाई मेट्दै समान किसिमको बनाउने प्रतिबद्धता जनाउनुभयो । नेता सिहंले मुलुकमा विकराल रुपमा रहेको बेरोजगारी समस्यालाई समाधान गर्न कक्षा १२ पास भएका विद्यार्थीलाई समय सुहाउँदो प्रविधिमा आधारित पढाईका साथसाथै सिपको सटिर्फिकेट दिन रोजगार केन्द्रित शिक्षाको विकास गर्ने बताउनुभयो । त्यस्तै उहाँले चुनावको नतिजा आउने बित्तिकै काठमार्डौ महानगर, बागमती प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर प्रत्येक वडामा चिकित्सक र उचित मेडिकल जनशक्तिसहितको वडा क्लिनिक ल्यावको सेवा सुचारु गर्ने आश्वासन दिनुभयो । सोही क्षेत्रमा २०७४ सालको निर्वाचनमा कांग्रेस नेता सिहंसँग पराजित हुनुभएका नेकपा माओवादी केन्द्रका नेता अनिल शर्माले राष्ट्रको हितका लागि पार्टीले गरेको निर्णय अनुसार अहिले गठबन्धनका साझा उम्मेदवार सिहंलाई जिताउन आफू पनि चुनावी घरदैलो अभियानमा निस्किएको बताउनुभयो । संविधानको रक्षा र संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्न गठबन्धनलाई जनताले भोट दिनुपर्ने उहाँको तर्क छ । कांग्रेसका नेता सिहंले यसअघि काठमाडौं १ बाट लगातार तीन वटा चुनाव जितिसक्नुभएको छ । यसपटक उहाँसँग एमालेका किरण पौडेल, राप्रपाबाट रविन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम, नेपाल सुशासन पार्टीबाट रमेश खरेल लगायत प्रतिस्पर्धामा हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here