झापा । अपांगता भएका व्यक्तिहरूले गरेको मतदान बदर नहोस् भन्ने उद्धेश्यले शुक्रबार झापाको बिर्तामोडमा नमूना मतदानको आयोजना गरिएको छ ।
नेत्रहीन युवा संघ नेपाल झापा शाखाको आयोजनामा नमूना मतदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा झापाका अपांगता भएका व्यक्तिहरूको उपस्थिति थियो । विगतका निर्वाचनमा अपांगता भएका व्यक्तिहरूको मत धेरै बदर भएकाले अबको निर्वाचनमा बदर मतको संख्या घटाउनका लागि नमूना मतदानको कार्यक्रम राखिएको नेत्रहीन युवा संघ नेपाल झापा शाखाका सचिव होमनाथ राजवंशीले बताउनुभयो ।
निर्वाचन आयोगले यसअघि सम्पन्न स्थानीय तह निर्वाचनलाई ‘राष्ट्रिय उत्सव’ का रूपमा ग्रहण गर्न र निर्धक्क भएर मताधिकार प्रयोग गर्न अपिल गरेको थियो ।मतदानकेन्द्रहरूमा अपांगता भएका व्यक्तिहरूले उत्सव भन्दा पनि सकस व्यहोर्नुपर्ने बाध्यकारी अवस्था रहने गरेको पाइन्छ ।
भोट हाल्ने टेबुल अग्लो हुने गरेको, आफैंले भोट हाल्न नमिलेपछि सहयोगीले भोट हालिदिनु पर्ने बाध्यकारी अवस्था रहने गरेको अपांगता भएका व्यक्तिहरूले गुनासो गर्ने गरेका छन् । बैसाखीकोसहायतामाउभिनुपर्नेअवस्थाका मतदाता घण्टौंसम्म लाइनमा उभिनुपर्ने अवस्था छ ।
त्यसैले मंसिर ४ गतेको निर्वाचनमा अपांगता भएका व्यक्तिहरूले त्यो परिस्थितिको सामना गर्नु नपरोस् भन्नका लागि निर्वाचन आयोगसंग आग्रह गरिएको नेत्रहीन युवा संघ झापा शाखाकी फिल्ड अधिकृत मुना भट्टराईको भनाइ छ ।
नमूना मतदान स्थलमा उपस्थित अपांगता भएका व्यक्तिहरू मतदान गर्न उत्सुक देखिन्थे । उनीहरू सांकेतिक भाषामै मतदानका लागि उत्सुकता देखाइरहेका थिए ।