झापा । नेपाल हिन्दूराष्ट्र पुनर्स्थापना मञ्चका संस्थापक अन्तर्राष्ट्रिय अध्यक्ष विष्णुप्रसाद बरालले नेपाललाई हिन्दूराष्ट्र पुनः घोषणा नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
आइतबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर बरालले जसरी पनि नेपाललाई हिन्दूराष्ट्र पुनः घोषणा गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले संविधान निर्माणका क्रममा जबरजस्ति मध्यरातमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको आरोप लगाउनुभयो । नेपालका राजनीतिक दलका नेताहरूले विदेशीको इशारामा नेपालको हिन्दूराष्ट्र पहिचान मेटाएको आरोप बरालले लगाउनुभयो ।
नेपाल तथा विदेशमा बस्ने सबै हिन्दूहरूको पहिचान मेट्ने काम भएकाले तत्काल सच्याउनुपर्ने उहाँको भनाइ थियो ।
नेपालको अधिकांश सर्वसाधारण भावनाविपरित काम गरिएकाले संविधान संशोधन गरेर नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गरिनुपर्ने उहाँले बताउनुभयो ।





