झापाको ३ निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३१ लाख खर्च गर्न पाउने


१ कार्तिक २०७९, मंगलवार ११:४८ मा प्रकाशित

झापा । ५ निर्वाचन क्षेत्र रहेको झापामा तिन निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाखसम्म खर्च गर्न पाउने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा निर्धारण गरेसँगै झापाको क्षेत्र नं. २,३,५ का उम्मेदवारले सो खर्च गर्न पाउने भएको हो । निर्वाचन क्षेत्र नं. २ मा गठबन्धनको तर्फबाट हरि कुमार राना र नेकपा एमोलेको तर्फबाट देवराज घिमिरे मुख्य प्रतिस्पर्धामा छन् । यसैगरी क्षेत्र नं. ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र कांग्रेसको तर्फबाट कृष्ण प्रसाद सिटौला बिच रोचक भिडन्त हुने देखिएको छ । यस्तै क्षेत्र नं. ५ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओ.ली र गठबन्धनको तर्फबाट खगेन्द्र अधिकारीबिच प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ ।
यता झापा १ र ४ का उम्मेदवारले भने अधिकतम २९ लाख खर्च गर्न पाउने भएको छ । झापा १ मा नेपाली कांग्रेसको तर्फबाट विश्व प्रकाश शर्मा र नेकपा एमालेको तर्फबाट अग्नि खरेल प्रमुुख प्रतिस्पर्धामा छन् । क्षेत्र नं. ४ मा भने नेकपा एमालेको तर्फबाट लाल प्रसाद साँवा लिम्बू र नेपाली कांग्रेसको तर्फ देउ कुमार थेवे बिच प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ । झापामा १९२ जना उम्मेदवार चुनावी मैदानमा छन् । खर्चको सीमा निर्धारण गर्दा २०७९ साल भदौ ३१ गते प्रकाशित अन्तिम मतदाता नियमावलीमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम मतदाताको सङ्ख्यालाई ६० प्रतिशत भार, सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको सङ्ख्यालाई २० प्रतिशत र सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई २० प्रतिशत भार मानिएको आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here