पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं.४ मा आगामी जेठ १० गते निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन हुने


७ जेष्ठ २०८३, बिहीबार १६:२६ मा प्रकाशित

देव वाँस्कोटा, पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका– वडा नं ४ मा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन हुने भएको छ ।

श्री पञ्चमी कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना तथा युनिभर्सल युथ ग्रुप संस्था र युनिभर्सल गुप्त रोग स्वास्थ्य सेवा केन्द्र उर्लाबारी मोरङको प्राविधिक सहयोगमा शिविर सञ्चालन गर्न लागिएको हो ।

आयोजकका अनुसार आगामी २०८३ साल जेठ १० गते आइतबार बिहान ५ बजेदेखि श्री सिद्ध माध्यमिक विद्यालय हिलिहाङ ४ पञ्चमीमा शिविर सञ्चालन हुनेछ । शिविरमा विशेषज्ञ चिकित्सकबाट विभिन्न रोगहरूको निःशुल्क परीक्षण तथा परामर्श सेवा प्रदान गरिने जनाइएको छ ।

शिविरअन्तर्गत निःशुल्क रूपमा पाठेघरको मुखको क्यान्सर परीक्षण गरिनुका साथै स्तन क्यान्सर र निसन्तान सम्बन्धी परामर्श सेवा पनि उपलब्ध गराइनेछ । त्यस्तै, निःशुल्क औषधि वितरण तथा रगत परीक्षण (रगत जाँच) सेवा पनि सञ्चालन गरिने बताइएको छ ।

विशेषज्ञ डाक्टर बाट मलद्वारसँग सम्बन्धित विभिन्न रोगहरूको प्रारम्भिक परीक्षण तथा उपचार सेवा समेत दिइने आयोजकले जनाएको छ । जसअन्तर्गत मलद्वार चिलाउने, पोल्ने, दुख्ने, मासु पलाएको, रगत आउने, पिप आउने, मलद्वार बाहिर निस्कने, शल्यक्रियापछि देखिएका समस्या लगायत महिला तथा पुरुषमा देखिने पाइल्स, फिस्टुला र फिसर जस्ता समस्याको जाँच गरिनेछ ।

साथै, रोग पहिचान गरी आवश्यक परे बिना अपरेशन वैज्ञानिक विधिबाट विशेष उपचार सेवा समेत प्रदान गरिने जनाइएको छ । कार्यक्रममा जिल्ला सहकारी संघ तथा बचत तथा ऋण सहकारी संघ, पाँचथरले समन्वय गर्नेछन् । आयोजकले स्वास्थ्य समस्या भएका नागरिकलाई शिविरमा सहभागी भई अवसरको लाभ लिन आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here