रेशम चौधरीको उम्मेदवारी खारेज


२६ आश्विन २०७९, बुधबार १०:०३ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि बर्दिया क्षेत्र नं २ बाट उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको मनोनयन दर्ता निर्वाचन आयोगले खारेज गरेको छ ।

मुख्य निर्वाचन कार्यालयका निर्वाचन अधिकृत नगेन्द्र लम्सालले चौधरीविरुद्ध परेको उजुरीमा छानबिन गरी मंगलबार उम्मेदवारी खारेज भएको जानकारी दिनुभयो ।

निर्वाचन अधिकृत लम्सालका अनुसार प्रतिनिधिसभा ०७४ को दफा १३ को ख(ङ) र झ बमोजिम खारेज गरीपाउँ भनी माओवादी केन्द्रका प्रतिनिधिसभाका उम्मेदवार सुरेश पन्थले उजुरी दिनुभएको थियो ।

उम्मेदवारी खारेज भएको जानकारी पाएपछि उहाँका समर्थकले नारवाजी गर्न थालेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताउनुभयो । अहिले त्यहाँको अवस्था शान्त छ ।

उच्च अदालतबाट जन्मकैदको सजाय पाएर हाल चौधरी डिल्लीबजारस्थित कारागारमा सजाय भोगिरहनु भएको छ । बर्दियाकै निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका दुई उम्मेदवार सञ्जयकुमार गौतम र अरुण प्रकाश सिंह राठौरमध्ये राठौरको उम्मेदवारी खारेज गर्दै गौतमको उम्मेदवारीलाई निर्वाचन आयोगले आधिकारिकता दिएको छ ।

यसैबीच, नागरिक उन्मुक्ति पार्टीबाटै कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभाका उम्मेदवार लक्ष्मण थारुको पनि उम्मेदवारी खारेज भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here