झापा । तास खेल्दा पैसा हारजितको विषयलाई लिएर झगडा हुँदा बिर्तामोडको नयाँ बसपार्कमा ताप्लेजुङका एक युवकको हत्या भएको खुलेको छ ।
गत मंसिर १८ गते बिहान मृत भेटिएका ती युवकको हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरि इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले सोमबार सार्वजनिक गरेको छ ।
हत्यामा संलग्न एक जना अझै फरार रहेको झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।
गत मंसिर १८ गते बिहान ताप्लेजुङ सिदिङ्वा गाउँपालिका ४ का २५ बर्षिय नविन्द्र गुरुङको शव बिर्तामोड बसपार्क नजिकको प्लटिङ छेउको सडकमा भेटिएको थियो । गुरुङ केही समयदेखि नयाँ बसपार्क नजिक बस्दै आएका थिए ।
गरुङको हत्या आरोपमा प्रहरीले नयाँ बसपार्कमा रहेको ताप्लेजुङ इलाम होटलका सञ्चालक ३८ बर्षिय इन्द्रबहादुर अधिकारी, सोही होटलका कर्मचारी २१ बर्षिय अमृत आचार्य र आचार्यकी श्रीमती २३ बर्षिय बिमला राईलाई पक्राउ गरेको छ ।
उनीहरूलाई सोमबार इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलन गरि प्रहरीले सार्वजनिक गरेको हो ।
ताप्लेजुङ इलाम होटलको पहिलो तलामा उक्त होटलका संचालक इन्द्र अधिकारी, होटलका स्टाफ अमृत आचार्य, मृतक नविन्द्र गुरुङ र अर्का एक जना मानिस मादक पदार्थ सेवन गरि तास खेल्दै गरेको अवस्थामा पैसा हारजितको बिषयलाई लिएर विवाद उत्पन्न भएको प्रहरीले जनाएको छ ।
झगडा बढ्दै जाँदा होटल संचालक अधिकारी, होटलका स्टाफ अमृत आचार्य र अर्का फरार एक जना मानिस मिलेर नविन्द्र गुरुङलाई मसला पिस्न प्रयोग हुने ढुङगाको लोहोरो र चक्कु समेतको प्रयोग गरी टाउकोको पछाडिपट्टिको भागमा पटक/पटक र नाकमा समेत प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीको भनाइ छ ।
सोही राति घटना ढाकछोप गर्ने मनसायले उक्त होटलवाट अवस्थाका गुरुङलाई होटल संचालक इन्द्र अधिकारी र होटलका स्टाफ अमृत आचार्यले बोकेर करिब १५० मिटर टाढा फालिदिएका थिए ।
पक्राउ परेकाहरूलाई कर्तव्य जान मुद्दामा सोमबार नै जिल्ला अदालत झापाबाट म्याद थप गरि इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा राखेर अनुसन्धान जारी राखिएको झापाका प्रहरी प्रमुख पोखरेलले बताउनुभयो । फरार रहेका एक जनाको पनि ट्रयाक गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।





