काठमाडौं । मंसिर ४ मा हुने निर्वाचनका लागि पार्टीबाट टिकट नपाएका नेताहरूले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्।
पार्टीले टिकट नदिएपछि उनीहरूले यसअघि उठेकै निर्वाचन क्षेत्रबाट आइतबार उम्मेदवारी मनोनयन गराएका हुन्।
नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ।
एमालेले भुसाललाई टिकट नदिएपछि शनिबार पार्टी छाडेको घोषणा गर्नुभएको थियो।
एमालेकै निवर्तमान सांसद रामवीर मानन्धरले काठमाडौँ क्षेत्र नम्बर ७ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ।
पार्टीले टिकट नदिएपछि मानन्धरले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो। साथै एमालेका नेता प्रभु साहले रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिनुभयो।
नेपाली कांग्रेसका नेता दिनेश कोइरालाले पार्टीले टिकट नदिएपछि चितवन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ।
नेता गोविन्दराज जोशीले तनहुँ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभयो। उहाँलाई कांग्रेसले केही वर्षअघि अनुशासनको कारबाही गर्दै सदस्यबाट नै हटाएको थियो।
कांग्रेसका नेता अमरेशकुमार सिंहले टिकट नपाएपछि सर्लाही ४ मा स्वतन्त्र उम्मेदवारी दिनुभयो। निर्वाचनमा पार्टीले टिकट नदिएपछि कतिपय नेता पार्टी परित्याग गरी अर्को पार्टीमा लागेका छन् भने केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
काठमाडौँमा क्षेत्र नम्बर ३ मा कांग्रेसका पूर्व नगर सभापति श्रीकृष्ण ज्योतिले स्वतन्त्र उम्मेदवारी दिए भने कांग्रेसबाट असन्तुष्ट कामपा–६ का पूर्व वडाध्यक्ष दीपेन्द्र लामाले प्रदेश (क) का लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्।
साथै प्रदेश (ख) मा महलिा सङ्घ काठमाडौँका अध्यक्ष विष्णुदेवी पुडासैनीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ।
लेखक युग पाठकले झापा क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिनुभयो। यो क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराउनुभएको छ।
त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएको डडेलधुरामा सागर ढकालले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ।





