नेकपा एमालेको टिकट वितरणमा असन्तुष्टि, निर्वतमान १४ सांसदको टिकट काटियो


२२ आश्विन २०७९, शनिबार १३:२० मा प्रकाशित

झापा । नेकपा एमालेको टिकट वितरणको अधिकार पाएका अध्यक्ष केपी शर्मा ओलीले टिकटबारे निर्णय लिदा महासचिव शंकर पोखरेल र आफ्ना विश्वास पात्र रहेका उपमहासचिव विष्णु रिमालको साथ लिनुभएको थियो ।
यतिबेला एकल सिफारिस भएका नेताले समेत टिकट नपाएपछि एमालेमा चर्को असन्तुष्टि देखिएको छ ।
मनोनयन दर्ता गर्ने समय एक दिन मात्र बाँकी रहँदा पार्टी भित्र कतै विद्रोह त कतै राजिनामा दिन थालेका छन् ।
नेकपा एमालेका ८० जना निवर्तमान सांसदमध्ये ६ जना सशक्त दाबेदार र बाँकी ८ जनाले गरी १४ जनाले यो पटक टिकट पाएनन् ।
यसमा कोही प्रदेशतिर पनि जान इच्छुक रहेका छन् भने केही स्वैच्छिक रूपमा सांसद नबन्ने भन्दै अरूलाई छोडेका छन् ।
असन्तुष्ट बन्नेमा अछाम १ का भीम रावल, रुपन्देही ३ का घनश्याम भुसाल,दोलखाका पार्वत गुरुङ, कञ्चनपुर ३ का दीपकप्रकाश भट्ट, पवित्रा निरौला खरेल झापा र राजबहादुर बुढा दैलेख २ रहनुभएको छ ।
एमालेले शुक्रबारनै झापाका सबै पाँचवटै संघीय र प्रदेश साँसदका उम्मेद्वारको टुंगो लगाएको छ ।
जसमा क्षेत्र नं २ बाट ०७४ मा सांसद बन्नुभएका पवित्रा निरौला (खरेल) मंसिर ४ का लागी सशक्त दाबेदार हुन् तर प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि क्षेत्र नं २ मा स्थायी कमिटी सदस्य देवराज घिमिरेले टिकट पाउनुभएको छ ।
यस्तै भीम रावललाई टिकट नदिएको विरोधमा क्षेत्रीय कमिटी संयोजक प्रकाश शाहले राजीनामा दिनुभएको छ । शाहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै पदबाट राजीनामा दिनुभएको हो ।
एमालेले रावललाई नभई एमाले अछाम जिल्ला इन्चार्ज झपट बोहरालाई टिकट दिने निर्णय गरेपछि शाहले नैतिकताको आधारमा राजीनामा दिनुभएको हो
यता गत ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले नेता घनश्याम भुसालले रुपन्देही ३ बाट राप्रपाका नेता दीपक बोहोरालाई ५ हजार ४ सय ४४ मतले पराजित गर्नुभएको थियो ।
आगामी मंसिर ४ मा हुने आम निर्वाचनमा भने एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका नेता भुसालको टिकट खोसेर राप्रपा नेता नामूद पञ्च बोहोरालाई सघाउने निर्णय गर्नुभएको छ ।
एमालेको बलियो पकट रहेको सुनसरी क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका नेता अशोक राईलाई सघाउने केन्द्रको निर्णयविरुद्ध एमाले कार्यकर्ताले विद्रोह गरेका छन्। स्थानीय कमिटीको सिफारिसविपरीत सुनसरी १ जसपालाई दिएपछि स्थानीय कार्यकर्ताले धरानका पूर्वमेयर मनोज मेयाङ्बोलाई स्वतन्त्र उठाउने तयारी गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमालेबीच प्रतिनिधिसभाका ३ वटा सिटमा तालमेल हुने सहमति अनुसार झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष लिङदेनलाई सघाएर क्षेत्र नम्बर ५ को भोट आफूले लिने र जित्ने रणनीति अन्तर्गत ओलीले राप्रपालाई उपयोग गर्ने नीति ०७४ सालदेखि नै लिँदै आएका छन् ।
यसक्रममा झापा ५ मा आफ्नो सिट सुरक्षित गर्दै ओलीले रुपन्देही ३ मा घनश्याम भुसालको सिट दाऊमा लगाइदिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here