काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा खटिने कर्मचारीलाई कसैको पक्ष तथा विपक्षमा नलाग्न निर्वाचन आयोगले आग्रह गरेको छ ।
मंसिर ४ गते हुने निर्वाचनमा तोकिएको आचारण बाहिर गएर कुनै पनि कार्य नगर्न आयोगले आग्रह गरेको छ ।
कुनै राजनीतिक दल वा उमेदवारको पक्ष वा विपक्षमा कुनै कार्य गर्न वा गराउन नहुने जनाएको आयोगले प्रचार प्रसारमा संलग्न हुन वा प्रचारप्रसार नगर्न कर्मचारीलाई अनुरोध पनि गरेको छ ।
निर्वाचन प्रयोजनका लागि सम्प्रेषण गर्नुपर्ने सूचना एवं जानकारी बाहेक अन्य कुनै प्रकारका आफूलाई प्राप्त जानकारी कुनै राजनीतिक दल वा उमेदवार वा अनधिकृत व्यक्तिलाई दिन नहुने आयोगले जनाएको छ ।
निर्वाचन सम्बन्धी कार्य गर्दा/गराउँदा कसैको पक्ष वा विपक्ष नलिन पनि आयोगको आग्रह छ ।