झापा । सोलुखुम्बु जिल्लामा डेंगीसँग मिल्दोजुल्दो लक्षण भएकाहरुमा गरिएको परीक्षणमध्ये ३३ दशमलव ३३ प्रतिशतमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।
जिल्ला अस्पताल फाप्लुको ल्याबमा अहिलेसम्म रगत परीक्षण गराएका १८ जनामध्ये ६ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिनुभयो ।
उहाँका अनुसार संक्रमण पुष्टि हुने मध्ये ५ जनालाई अस्पतालमा भर्ना नै गरेर उपचार गरिएको थियो । संक्रमित सबै पुरुष रहेको अस्पतालले जनाएको छ ।
जिल्लामा डेंगी संक्रमण बढ्न थालेसँगै स्वास्थ्य कार्यालयले पालिकास्तरमै परीक्षणलाई तिब्रता दिने बताएको छ ।
जसका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरले १५० थान परीक्षण कीट पठाएको सूचना अधिकारी रामनारायण शाहले जानकारी दिनुभयो ।





