एमालेसँग जिल्ला तहमा सहकार्य हुनसक्छ : राजेन्द्र लिङ्देन


२० भाद्र २०७९, सोमबार १३:४२ मा प्रकाशित

बाँके ।    राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा जिल्लास्तरमा नेकपा एमालेसँग सहकार्य हुनसक्ने बताउनुभएको छ ।

राप्रपा बाँकेले सोमवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले आवश्यकताका आधारमा जिल्ला तहमा सहकार्य हुन सक्ने तर कुनै पनि पार्टीसँग देशव्यापी गठबन्धन नहुने स्पष्ट पार्नुभयो । नेकपा एमालेसँग जिल्लास्तरमा सकारात्मक छलफल अघि बढेको भन्दै अहिलेसम्म निष्कर्ष भने नआएको उहाँको भनाइ छ ।

अघिल्लो चुनावमा जस्तो केही सिटमा उम्मेदवारी दिने र धेरैजसो क्षेत्रमा खाली हुने अवस्था आउन नदिने अध्यक्ष लिङ्देनले बताउनुभयो । पार्टीका उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री डा. धवलशम्शेर राणासहित पत्रकार सम्मेलनमा उपस्थित लिङ्देनले पार्टीका शीर्ष नेताहरूको क्षेत्रमा चुनावी तालमेल स्वाभाविक रहेको बताउनुभयो ।

उहाँले संसद्को आयु चुनावपछिको पहिलो बैठकसम्म कायम गर्न खोज्नु घोर अनैतिक काम भएको टिप्पणी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here