बिर्तामोड । साहित्य चौतारी बिर्तामोडले मासिक साङ्गीतिक काव्यसभा राष्ट्रकवि माधवप्रसाद घिमिरेप्रति समर्पित गरेको छ ।
घिमिरेको दोस्रो स्मृति दिवसलाई साहित्य चौतारीले विशेष रुपमा मनाएको हो । साहित्य चौतारीको स्थापनाकालको पहिलो प्रमुख अतिथि राष्ट्रकवि घिमिरे हुनुहुन्थ्यो । घिमिरेको बाहुलीबाट उद्घाटन भएको साहित्य चौतारीले स्थापनाको २३ औँ वर्षमा आइपुग्दा राष्ट्रियस्तरका प्रतिभा जन्माइसकेको छ ।
साहित्य चौतारीको श्रीवृद्धिमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय रहेको साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठले बताउनुभयो । सांगीतिक काव्यसभामा गायक चेतन चुडाललाई सांगीतिक प्रतिभा सम्मान प्रदान गरिएको संरक्षक श्रेष्ठले जानकारी दिनुभयो । गीत संगीतमा चुडालले दिएको योगदानको कदर गर्दै साहित्य चौतारीले उहाँलाई सम्मान गरेको हो ।
शनिवारको काव्य सभामार्फत साहित्य चौतारीले साहित्य, संगीत र कलाका तीनवटा विधामा पाँच/पाँच जनाका दरले बालप्रतिभा छनोट गरेको छ । छनोट भएका बाल प्रतिभाबीच भदौ २९ गते प्रतिस्पर्धा हुने र उत्कृष्टलाई नगद र सम्मानपत्रसहित पुरस्कृत गरिने संरक्षक श्रेष्ठले जानकारी दिनुभयो । साहित्य चौतारीले हरेक सांगीतिक काव्यसभामा उत्कृष्ट भएका बाल प्रतिभालाई पनि पुरस्कृत गर्दै आएको छ ।
यसैबीच श्रेष्ठकै स्वामित्वमा रहेको हिकोला हेरिटेज होटलको पनि आठौं स्थापना दिवस मनाइएको छ ।





