आज साउन १५ खिर खाने दिन


१५ श्रावण २०७९, आईतवार १३:१७ मा प्रकाशित

काठमाडौँ । आज साउन १५ गते नेपालीले खिर खाएर मनाएका छन् ।

वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई फाइदा गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । पहिला घर घरमा मात्रै खिर खाने चलन रहेपछि अहिले सामूहिक रुपमा भेला भएर खिर खाने गरिएको छ ।

ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँछन् । चामल, सावधाना, सेवई, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ ।

नेपाली समाजमा असार १५ गते दही चिउरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने चलन रहिआएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here