भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल–भारतबीच भएको सन १९५० को शान्ति तथा मैत्री सन्धि पुनरवलोकन गर्नुपर्ने बताउनु भएको छ ।
भारतीय जनता पार्टी भाजपा निकट थिंक ट्यांक ‘फाउन्डेसन फर पब्लिक अवार्नेस एन्ड पोलिसी’ एफपिएपीले शनिबार नयाँ दिल्लीमा नेपाल–भारत सम्बन्धका विषयमा आयोजना गरेको अन्तक्र्रियामा उहाँले इतिहासले छाडेर गएका कतिपय विषयलाई सकारात्मक हिसाबले सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।
अध्यक्ष दाहालले सन् १९५० को सन्धि, सीमा समस्या तथा इपिजी रिपोर्टलगायत विषयलाई कूटनीतिक तवरले संवादका माध्यमबाट टुंग्याउनुपर्ने बताउनु भएको छ ।
भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा शुक्रबार भारत प्रस्थान गर्नु भएका दाहालले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गर्नु भएकोे थियो ।
भेटमा आर्थिक सहकार्यका विषयमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको विदेशमन्त्री जयशंकरले बताउनु भयो ।
‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ,’ दाहालसँगको भेटपछि विदेशमन्त्री जयशंकरले ट्विट गर्दै बताउनु भएको छ ।
शनिबार नै दाहालले भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र एफपिएपीका अध्यक्ष डा .अनिर्बन गंगोलीसँग पनि भेट गरेका गर्नु भएको थियो ।
शनिबार नै उहाँले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा बे्रकफास्ट बैठकपछि अखिल भारत नेपाली एकता मञ्चका नेताकार्यकर्तासँग भेट गर्नु भयो । भारत भ्रमणमा रहेका दाहालले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यतालिका रहेको छ ।





