काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापाले प्रधानमन्त्रीको दाबी गरेमा आफ्नो समर्थन रहने बताउनु भएको छ ।
अमेरिका भ्रमणमा रहेका शर्माले कांग्रेस निकट जनसम्पर्क समितिले क्यालिफोर्निया गरेको कार्यक्रममा बोल्ने क्रममा शर्माले थापाको पक्षमा विचार व्यक्त गर्नु भएको हो । सांसद तथा मन्त्री भइसकेकाले गगनले प्रधानमन्त्रीको दाबी गर्नु स्वाभाविक रहेको उहाँको भनाइ छ।
सोही कार्यक्रममा सहभागी गोरखाका कांग्रेस जिल्ला सचिव किशोरजंग थापाले महामन्त्री शर्माको बोली उद्धृत गर्दै उहाँले भन्नुभयो, ‘५० वर्षमुनि उमेर समूहबाट प्रधानमन्त्रीमा गगनको दाबी स्वाभाविक हो । सिनियर जुनियरको कुरा हामी बीचमा हुँदैन ।’
महामन्त्री थापाले अन्तवार्ताका क्रममा निर्वाचन पश्चात् प्रधानमन्त्रीमा दाबी गर्ने बताउँदै आउनु भएको छ । संसदीय प्रणालीमा संसदीय दलको नेता चुनिएर मात्रै प्रधानमन्त्री बन्ने प्रावधान हुन्छ ।
संसदीय दलको नेता चुन्नका लागि हुने निर्वाचनमा थापाले उम्मेदवारी दिने बताउँदै आउनु भएको छ । सफल र असफल जुनसुकै परिणाम पनि स्विकार्नका लागि प्रयास गर्ने उहाँको भनाइ छ ।





