काठमाडौँ । प्रतिनिधिसभाको बैठकले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ लाई पारित गरेको छ ।
बिहीबार बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले उक्त बिधेयक पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
त्यसअघि बैठकमा सांसदहरुले बिधेयकमाथि राखेका प्रश्नको जवाफ दिदै कानूनमन्त्री कोईरालाले संवेदनशिल बिषयमा हल्का रुपमा टिप्पणी गर्दा अन्य क्षेत्रमा पनि त्यसले असर पार्ने बताउनुभयो । जतिवेला पनि अन्तराष्ट्रिय सम्बन्धमा प्रतिकुल असर पार्न सक्ने गरि राजनीतिकरण गरेर बिषयबस्तु उठाउँदा पनि समस्या हुन सक्ने उहाको भनाई छ । उहाँले बिधेयमाथिको छलफलमा भाग लिदा जुन बिषय हो त्यसमा केन्द्रीत रहेर सांसदहरुले भनाई राख्दा उचित हुने बताउनुभयो ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको छ भने यस्तै, बैठकले खानेपानी तथा सरसफाइ विधेयक, २०७७ लाई पारित गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बोलाइएको छ ।





