मा‌ओवादी केन्द्रले तत्काल मन्त्री नपठाउने


२३ असार २०७९, बिहीबार ०७:१५ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका तर्फबाट अर्थमन्त्री बनेका जनार्दन शर्माले राजीनामा दिएपछि रिक्त हुन पुगेको पदमा तत्काल कसैलाई नपठाइने भएको छ।

बजेट निर्माण प्रक्रियामा बिचौलिया प्रवेश गराएको भन्दै चौतर्फी विरोध भएपछि मन्त्री शर्माले बुधबार पदबाट राजीनामा दिनु भएको हो।

उहाँमाथि छानबिनका लागि संसदीय समिति बनेकाले त्यसले आफ्नो काम नसकेसम्म माओवादी केन्द्रले शर्माका ठाउँमा नयाँ मन्त्री नपठाउने माओवादी केन्द्रका नेताहरूले जानकारी दिएका छन्। ‘छानबिन समितिको रिपोर्ट नआएसम्म पार्टीले अर्थ मन्त्रालयमा नयाँ व्यक्ति पठाउँदैन,’ माओवादी नेता लीलामणि पोखरेलले भन्नुभयो।

छानबिन समितिले शर्मालाई दोषी ठहर गरे मात्र पार्टीले अर्थमन्त्रीमा अर्काे व्यक्तिलाई पठाउने उहाँले बताउनु भयो। छानबिन समितिको रिपोर्ट नआएसम्म पार्टीबाट सरकारमा नेतृत्व गर्ने वरिष्ठ मन्त्रीलाई नै अर्थ मन्त्रालयको पनि जिम्मा दिइने उहाँको भनाइ थियो।

तर शर्माको राजीनामासँगै अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्नु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here