काँकरभिट्टा । भन्सार नाका भएर ०७८ -७९ को पछिल्लो ११ महिनाको अवधिमा ३ लाख ७२ हजार ५ सय ६४ रुपैयाँ बराबरको माछा नेपालमा आयात भएको छ ।
मेची भन्सार कार्यालय काँकरभिट्टाका अनुसार नेपालले चालु आर्थिक वर्ष ०७८-७९ को जेठमहिनासम्ममा विदेशबाट ३ लाख ७२ हजार ५ सय ६४ रुपैयाँ बराबरको ३ हजार ४ सय १९ केजी माछा आयात गरेको हो । काँकरभिट्टा नाका भएर विशेषतः भारतको विभिन्न शहरबाट माछा आयात हुने गरेको छ ।
झापालगायत नेपालका अन्य जिल्लामा मा व्यावसायिक रूपमै माछा उत्पादन सुरु भएपछि भारतसहित तेस्रो मुलुकबाट आयात हुने माछा र माछाका भुरामा कमी आएको कार्यालयको तथ्याङ्कले स्पष्ट पार्दछ । कार्यालयका सूचना प्रविधिका कम्प्यूटर अपरेटर अरुण शाहका अनुसार आर्थिक वर्ष ०७६-७७ मा काँकरभिट्टा नाका भएर ८५ लाख १७ हजार २ सय ८२ रुपैयाँ मुल्य बराबरको ३ लाख २३ हजार ९ सय ११ केजी माछा आयात भएको थियो ।
काँकरभिट्टा नाका हुँदै आयात हुने माछा झापा, इलाम, ताप्लेजुङ, पाँचथरलगायतका जिल्लामा खपत हुने गरेको छ ।सरकारले व्यावसायिक माछापालनका लागि किसानलाई रकम अनुदान दिन थालेपछि झापालगायत अनय जिल्लामा व्यावसायिक माछापालनतर्फ किसानको आर्कषण बढे लगत्तै विदेशी माछाको आयात गत आर्थिक वर्ष ०७७-७८ मा ओरालो लागेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
त्यो आर्थिक वर्षमा काँकरभिट्टा नाका भएर ३२ लाख २ हजार २ सय ६५ रुपैयाँ मुल्य बराबरको ११ लाख ८ हजार २ सय ८० केजी माछा आयात भएको कम्प्यूटर अपरेटर शाहले जानकारी दिनुभयो । केही वर्ष अघिसम्म झापालगायत नेपालका थुप्रै बजारमा भारतसहित तेस्रो मुलुकबाट आयात गरिएका माछा विक्री हुन्थयो ।
अहिले स्वदेशी माछाले नै नेपाली बजार र नेपालीको भान्सा ओगटेको माछा व्यवसायी रामदुलारी मल्लाहको भनाई छ । माछा आयात बन्द गर्न सरकारले कृषकलाई माछापालनमा अनुदान उपलब्ध गराउन थालेको छ ।
भद्रपुर, गौरीगञ्जसहित इलामको पशुपतिनगर सीमा नाकाबाट भित्रिने माछा आयातमा समेत कमी आएकोपशु क्वारेन्टाइन कार्यालयले जनाएको छ । यो नाकाबाट माछा आयातमा पनि कमी देखिएको छ भने, माछाको भुराको भुरा आयात त शुन्य रहेको पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका मुकेशकुमार सिंहले बताउनुभयो ।





