Wednesday, 04 November 2026
Suryodaya Online
१८ कात्तिक २०८३, बुधबार
विज्ञापन

सडक सुधारमा एडीबीको ३०५ मिलियन डलर सहायता स्वीकार, पुनर्बिमा कम्पनीमा पनि थप लगानी गरिने

Suryodaya Online१८ कात्तिक २०८३Suryodaya Online TV0 प्रतिक्रिया

काठमाडौं । सरकारले सडक पूर्वाधार सुधारका लागि एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने ३०५ मिलियन अमेरिकी डलर बराबरको ऋण तथा अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

बैठकले नेपाल पुनर्बिमा कम्पनी लिमिटेडमा सरकारको थप हकप्रद सेयर लगानी गर्न पनि सहमति दिने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्ले कृषि क्षेत्रमा प्रयोग हुने नानो फर्टिलाइजर र बायोस्टिमुलेन्टसहित व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण हुने जैविक र प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने निर्णय गरेको छ । यसका साथै मल नियन्त्रण आदेश, २०८३ स्वीकृत गरिएको छ ।

बैठकले टर्कीको आन्ताल्यामा कात्तिक २३ देखि मंसिर ४ गतेसम्म हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई अनुमति दिने निर्णय पनि गरेको छ ।

भूमिसम्बन्धी विषयमा समेत मन्त्रिपरिषद्ले महत्त्वपूर्ण निर्णय गरेको छ । मोही लागेको जग्गाको जग्गावाला र मोहीले आपसी बाँडफाँडका लागि निवेदन दिनुपर्ने समय २०८५ कात्तिक मसान्तसम्म र बाँडफाँडसम्बन्धी कारबाही टुङ्ग्याउनुपर्ने अवधि २०८६ असार मसान्तसम्म थप गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिए । यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न पनि बैठकले स्वीकृति दिएको छ ।

यसैगरी, प्रेस काउन्सिल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद्का यी निर्णयले सडक पूर्वाधार विकास, पुनर्बिमा क्षेत्रको लगानी, कृषि सामग्रीको नियमन, भूमि व्यवस्थापन तथा सञ्चारसम्बन्धी कानुनी व्यवस्थालाई समेटेका छन् ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private