काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई विकास हुन नदिने तत्वहरु अहिले पनि सक्रिय रहेको बताउनु भएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगको वार्षिकोत्सवका अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उहाले बम पड्काउने आतंककारीहरुको कुनै माग नै नभएको र यस्ता तत्वले बिकासका काममा अवरोध सिर्जना गर्न खोजेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले संविधान बमोजिम भएको निर्वाचनबाट सरकार निर्माण भएको उल्लेख गर्दै सिलिण्डर बम हानेर आतंकित पार्ने र लुटपाटका लागि क्रान्तिको नाम लिने कुरा मानव अधिकारका लागि खतरनाक पक्ष भएको बताउनुभयो । विप्लव समूहको उद्देश्य पैसा उठाउने बाहेक केही पनि नभएको प्रधानमन्त्रीको भनाइ छ ।
नेपाललाई अशान्ततिर लैजाने प्रयासलाई सरकारले रोक्ने प्रधानमन्त्रीको चेतावनी थियो ।त्यस्तै उहाले सरकारले प्रेस स्वतन्त्रतामा शतप्रतिशत ग्यारेन्टी गर्ने स्पष्ट पार्नुभयो ।संविधानमै रहेको प्रेस स्वतन्त्रताको व्यवस्थालाई सरकारले सम्मान गर्ने उहाले बताउनुभयो ।
विभिन्न विधेयकहरु छलफलका लागि ल्याइएको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई संसदमा गहन छलफलपछि लोकतन्त्र र मानवअधिकारमैत्री बनाइने स्पस्ट पार्नुभयो ।





