प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो अमेरिकाको भ्रमण औपचारिक रूपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताउनुभएको छ ।
उहाँले आज आइतवार नेपाली कांग्रेस सचेतक पुष्पा भुसालसँगको भेटमा भ्रमण तय भएपछि सदन वा संसदीय समितिमा आएर औपचारिक रूपमा जानकारी गराउने बताउनुभएको हो ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भ्रमणका सम्बन्धमा जानकारी लिन प्रधानमन्त्री देउवालाई समिति बैठकमा बोलाएको सन्दर्भमा समिति सदस्यसमेत रहनुभएका सचेतक भुसालले आइतबार उहाँसँग भेट गर्नुभएको थियो ।
समितिको यसअघिको बैठकमा परराष्ट्र मन्त्री डा. नारायण खड्काले प्रधानमन्त्रीको अमेरिका भ्रमणका सम्बन्धमा प्रारम्भिक छलफल भएको तर अन्तिम टुङ्गो लागिनसकेको स्पष्ट पार्नुभएको थियो ।
समितिले नेपालको परराष्ट्र नीति कार्यान्वयन र प्रधानमन्त्रीको भ्रमणका सम्बन्धमा छलफल गर्न आज शनिवार बैठक बोलाएको थियो ।
प्रधानमन्त्री देउवा आफ्नो कार्यव्यस्तताका कारण बैठकमा उपस्थित हुन नसक्नुभएको बुझिएको छ ।
बैठकले प्रधानमन्त्रीको भ्रमणको कार्यसूचीबारे छलफल र जानकारीका लागि प्रधानमन्त्रीररक्षामन्त्रीलाई आउँदो बैठकमा पुनः आमन्त्रण गर्ने निर्णय गरेको समिति सभापति पवित्रा निरौलाले जानकारी दिनुभयो ।
साथै बैठकले समितिको प्रतिवेदन २०७९ आवश्यक परिमार्जनसमिति पारित गरेको छ ।





