ताप्लेजुङ । सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर एकै घरका दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी कैलाश राईका अनुसार गएराति वर्षासँगै झरेको पहिरोमा पुरिएर सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको मृत्यु भएको हो।
अर्का एक जना घाइते भएका छन्। घाइते मृतक तुलसाका श्रीमान् बिष्णु अधिकारी हुन्। उहाँको उपचार भइरहेको बताइएको छ । घाइते अधिकारीले भागेर ज्यान जोगाउन सफल भएको स्थानीयवासीले बताएका छन् । पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायसमेत पुरेको छ।
खेवाङसहित ताप्लेजुङका तीन ठाउँमा गए राति भीषण पहिरो गएको प्रहरीले जनाएको छ। जिल्लाको मामांखे र फक्तालुङमा पनि पहिरो गएको छ । घटनाका बारेमा थप विवरण आउन बाँकी छ । अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा गए राति ठुल्ठूला पहिरो झरेको प्रहरीले बताएको छ।





