काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप आज शुक्रबारबाट मलेसियामा सुरु हुँदैछ । च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
यूएसडी यूकेएम ओभलमा हुने खेल नेपाली समय अनुसार बिहान ८ः४५ बजे सुरु हुनेछ । नेपाल आज भुटानलाई हराउँदै च्याम्पियनसिपमा सुखद सुरुआत गर्न चाहन्छ । यता, भुटान पनि नेपाललाई हराएर सुखद सुरुआती गर्ने योजनामा छ ।
च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । च्याम्पियनसिपमा नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यस्तै समूह ’ए’ मा मलेसिया, युएई,ओमान,कतार र सिंगापुर रहेका छन् ।
समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ । च्याम्पियनसिप अन्तर्गत नेपालले दोस्रो खेलमा कुवेतसँग शनिबार खेल्नेछ । यस्तै नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।





