व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले मध्यपूर्वमा देखिएको पछिल्लो तनाव र द्वन्द्वका बीच नेपालका लागि निर्यातको ठूलो अवसर सिर्जना भएको बताउनुभएको छ ।
खाडी क्षेत्रमा जारी युद्ध र तनावले तेल आपूर्तिमा समस्या देखिए पनि पुनर्निर्माणका लागि आवश्यक निर्माणजन्य सामग्रीको माग ह्वात्तै बढेको उहाँको भनाइ छ । राजधानीमा आयोजित उद्योगी व्यवसायीसँगको छलफलमा कार्यकारी निर्देशक राणाले मध्यपूर्वका देशहरूले पुनर्निर्माणका लागि नेपाली सिमेन्टको माग गरिरहेको बताउनु भयो ।
सार्वजनिक मञ्चहरूमा व्यवसायीहरूले नेपाल सिमेन्टमा आत्मनिर्भर भएको र निर्यातका लागि पर्याप्त मौज्दात रहेको दाबी गरे पनि विदेशी माग आउँदा आपूर्ति गर्न नसकिएकोमा उहाँले आश्चर्य व्यक्त गर्नुभयो ।
मध्यपूर्वका इरान र इजरायल जस्ता देशहरूले ठूलो परिमाणमा निर्माण सामग्रीको माग गरिरहेको उल्लेख गर्दै राणाले नेपालले राम्रो तयारी गरे यसको फाइदा लिनसक्ने बताउनु भयो । कतिपय देशहरूले एकअर्कासँग आर्थिक कारोबार नगर्ने परिस्थितिले गर्दा नेपाल जस्ता मुलुकका लागि बजार विस्तार गर्ने यो सुनौलो अवसर भएको उहाँको विश्लेषण छ ।
मध्यपूर्वको लडाइँका क्रममा पानी प्रशोधन केन्द्रहरूमा समेत आक्रमण भएकाले त्यहाँ खानेपानीको ठूलो संकट पर्न सक्ने सम्भावना उहाँले औंल्याउनु भयो । नेपालबाट पानी निर्यात गर्नसक्ने प्रचुर सम्भावना भए पनि हालको अवस्थामा केही प्राविधिक र नीतिगत कठिनाइ रहेको उहाँले बताउनु भयो ।
सिमेन्ट र पानी बाहेक अन्य उपभोग्य वस्तुहरू पनि मध्यपूर्वको बजारमा निकासी गर्न सकिने प्रशस्त सम्भावना देखिएकाले निजी क्षेत्र र सरकार दुवैले यसमा सक्रियता देखाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।






