एसपीपी एमसीसी भन्दा खतरनाक होः अग्नि खरेल


२ असार २०७९, बिहीबार १९:५० मा प्रकाशित

झापा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व कानुनमन्त्री अग्निप्रसाद खरेलले अमेरिका परियोजना एमसीसी भन्दा अहिले चर्चामा रहेको एसपीपी खतरनाक भएको बताउनु भएको छ।

बिहीबार झापाको बिर्तामोडमा आफ्नै निवासमा पत्रकारहरूसंग कुरा गर्दै एमालेका स्थायी कमिटी सदस्य तथा झापा इन्चार्ज खरेलले एसपीपी नेपालको स्वाधीनताको विपक्षमा रहेको बताउनुभएको हो। एसपीपी सम्झौताको मस्यौदामा उल्लेख भएका कुरा नै नेपालको सार्वभौमिकताको विरुद्धमा एसपीपी रहेको उहाँको भनाइ छ।

एसपीपी अन्तर्गत जुनसुकै स्थानमा अमेरिका सेनाको क्याम्प राखे पनि त्यो खतरनाक हुने उहाँले बताउनु भयो। एमालेकै पालामा एसपीपी शुरु भएको भन्ने चर्चामा उहाँले त्यो बेला सम्झौता गर्न अघि कार्यदल गठन गर्ने निर्णय भएको बताउनु भयो। विवादित विषयमा कार्यदल गठन हुनु हुँदैन भन्नुको संकेत भएको खरेलको भनाइ छ।

आर्थिक बर्ष २०७९/८० को बजेट निर्माणका बेला अर्थमन्त्री जनार्दन शर्माले अनैतिक र गैर जिम्मेवार चरित्र देखाएको खरेलले बताउनु भयो। अर्को एक प्रसंगमा गत स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारप्रति नेता तथा कार्यकर्ताले अन्तर्घात गरेको कुरा प्रस्ट भए मात्र कारबाहीको प्रक्रिया अगाडि बढाइने उहाँको भनाइ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here