काठमाडौं । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओली सरकारको पालामा अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपी सम्झौता नभएको दाबी गर्नु भएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा पोखरेलले ओली सरकारको पालामा एसपीपी भएको भन्ने सत्तारुढ दलका नेताको अभिव्यक्ति भ्रामक रहेको भन्दै आपत्ति जनाउनु भयो ।
सरकारको पालामा एसपीपी भएको भन्ने सत्तारुढ दलका नेताको अभिव्यक्ति एमालेविरुद्ध रचिएको षड्यन्त्रको रुपमा रहेको भन्दै उहाँले यसलाई पुष्टि गर्न चेतावनी दिनु भएको छ । पुष्टि गर्न नसक्ने हो भने आफ्नो अभिव्यक्तिप्रति माफी माग्नुपर्ने पोखरेलको धारणा रहेको छ ।
सन २०१५ र २०१७ मा प्रस्तावमा आउन सुशील कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री रहेको भन्दै उहाँले, केपी ओली नेतृत्वको सरकारको पालामा आफू रक्षामन्त्री रहेकाले यस्तो कुनै सम्झौता नभएको दाबी गर्नु भयो ।
असंलग्न परराष्ट्र नीतिविपरीत हुने कार्यलाई एमालेले रोक्ने भन्दै आफू रक्षामन्त्री हुँदा नेपाल कुनै पनि सैन्य कार्यक्रममा सहभागी नहुने अमेरिकालाई बताएको पोखरेलको भनाई रहेको छ ।





