धादिङ। तीन दिनदेखि लगातार परेको वर्षासैँगै आएको बाढी पहिरोबाट त्रिपुरासुन्दरी र गंगाजमुना गाउँपालिकाको विभिन्न स्थानका ७५ घरपरिवार विस्थापित भएका छन् । गंगाजमुना –६ बसेरीमा वर्षाका कारण २४ घर विस्थापित भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार गङ्गाजमुना –६ बुढाथुममा १४, गङ्गाजमुना –५ फूलखर्कमा १४ घर, वडा नं २ रिमा १३ घर विस्थापित जनाइएको छ । विस्थापितका लागि त्रिपाल तथा टेन्टसमेत गाउँमा पुग्न नससकेको गाउँवासीले बताएका छन्। गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त लामाले विपद् परेर विस्थापित भएकाहरूको सङख्या धेरै रहेको जानकारी दिनु भयो ।
कच्ची सडक खन्दा ध्यान नदिएका कारण धेरै पहिरो आउँदा क्षति पुगेको नव निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले बताउनु भयो ।
शुक्रबार बस्ने विपद् व्यवस्थापन समितिको बैठकले पहिरो पीडितलाई राहत उपलब्ध गराउन निर्णय गरिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनु भयो ।





