काठमाडौँ । नेकपा एकीकृत समाजवादीले बजेट पास भए लगत्तै मन्त्री फिर्ताको निर्णय कार्यान्वयन गर्ने भएको छ ।
बुधबार बसेको स्थायी कमिटी बैठकले सचिवालय बैठकको निर्णय अनुमोदन गर्दै बजेट पारित भए लगत्तै सरकारमा पार्टीका तर्फबाट पठाउने मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरेको हो ।
स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने सचिवालयको निर्णयलाई स्थायी कमिटीले अनुमोदन गरेको जानकारी दिनुभयो ।
असार १० गते पोलिटव्युरो र ११ गते केन्द्रीय कमिटी बैठक तथा १३ गते केन्द्रीय परिषद् बैठक बोलाउने निर्णय बैठकले गरेको उहाँले बताउनु भयो।
अहिलेको पाँच दलीय गठबन्धनलाई आगामी चुनावसम्म लैजान सम्पूर्ण प्रयत्न गर्ने निर्णयसमेत बैठकले गरेको उहाँले जानकारी दिनुभयो ।





