काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणको विषयमा सरकारको जवाफ मागेको छ ।
प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सत्तापक्षका प्रमुख सचेतकले विषय उठाएको बारे प्रधानमन्त्रीको जवाफ माग गर्नुभएको हो ।
‘सत्ता पक्षका प्रमुख सचेतकले प्रधानमन्त्रीको अमेरिका भ्रमण रोक्न आग्रह गरेको कुरालाई हामीले कसरी बुझ्ने । यो विषयमा सदन अनुत्तरित रहनु हुँदैन भन्ने लाग्छ’ पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएका ज्ञवालीले भन्नुभयो ।
प्रधानमन्त्रीको भ्रमणबारे प्रमुख प्रतिपक्षी दल बेखबर रहेको र देउवाको अमेरिका भ्रमण प्रधानमन्त्री या रक्षामन्त्रीको हैसियतमा हुन लागेको भन्दै ज्ञवालीले प्रश्न गर्नुभयो । ‘प्रधानमन्त्रीको भ्रमण आधिकारिक हो कि सद्भाव मात्र हो ? त्यहाँ के समझदारी हुन्छन् त्यसबारे सदन जान्न चाहन्छ’ ज्ञवालीले भन्नुभयो ।





