काठमाडौँ । एएफसी एसियन कप छनोट अन्तर्गत कुवेतविरुद्धको खेलमा मैदानमै बेहोस भएर ढल्नुभएका नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ।
एएफसी एसियन कप छनोट अन्तर्गत शनिबार राति कुवेतविरुद्धको खेल दौरान अलमुताइरी मैदानको टेक्निकल एरियामा अचेत हुँदै ढल्नु भएको थियो।
खेलको ४८औँ मिनेटमा कुवेतले काउन्टरमा बल बढाउँदा प्रशिक्षक अब्दुल्लाह लड्नु भएको थियो। सोही मुमेन्टमा कुवेतले दोस्रो गोल गरेको थियो। गोललगत्तै खेल करिब ४ मिनेट रोकिएको थियो। यसपछि प्राथमिक उपचारपछि उहाँलाई अस्पताल लगिएको थियो।
हाल उहाँको अवस्था सामान्य रहेको अस्पताल पुगेका अफिसियल कृष्णभक्त मानन्धरले बताउनु भयो।
मुटुमा समस्या रहेका अब्दुल्लाह केही दिनदेखि आफ्नो स्वास्थ ठिक नभएको बताउँदै आउनु भएको थियो।





