लगातार दोस्रो हारसँगै एएफसी एसियन कप २०२३ मा छनोट हुने नेपालको सम्भावना सकियो


२९ जेष्ठ २०७९, आईतवार ०७:०३ मा प्रकाशित

काठमाडौं । लगातार दोस्रो हारसँगै एएफसी एसियन कप २०२३ मा छनोट हुने नेपालको सम्भावना सकिएको छ ।

शनिबार राति कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल कुवेतसँग ४–१ अन्तरले पराजित भएको हो ।

यसअघि नेपाल पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो । यस खेलसँगै नेपाल समूह ए मा दुई खेलबाट विना कुनै अंक पुछारमा छ ।

कुवेतको पहिलो जितमा युसेफ अलसुलिमानले दुई तथा फाहद अलरेसिदी र मोबारक अल्फानिनीले एक-एक गोल गरे ।

नेपालका दर्शन गुरुङले सान्त्वना गोल गरे । हालसम्मको आठ भेटमा दर्शन कुवेतविरुद्ध गोल गर्ने दोस्रो खेलाडी भने । ४० वर्ष अघि एसियन गेम्समा नेपालका वाइवी घलेले कुवेतविरुद्ध गोल गरेका थिए ।

खेलको २८औं मिनेटमा फाहदले हेड मार्फत गोल गर्दै कुवेतलाई अग्रता दिलाए । ४८औं मिनेटमा युसेफ दोस्रो गोल गरे । खेलको ७० औं मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गरे भने ७३औं मिनेटमा अल्फानिनीले टोलीको अग्रता ४–० को बनाए । खेलको इन्जुरी समयमा दर्शनले बक्स भित्रबाट गोल सान्त्वना गोल गरे ।

यस हारसँगै नेपालले २ खेलबाट कुनै अंक जोड्न सकेको छैन । पहिलो जित निकालेको कुवेतको २ खेलबाट तीन अंक रहेको छ । नेपालले अन्तिम खेलमा इन्डोनेसियासँग ३१ जेठमा खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here