मापसे गरेर सवारी साधन चलाउनेका लागि अब झापामा पनि ट्राफिक प्रहरीको कक्षा


२८ जेष्ठ २०७९, शनिबार १४:०५ मा प्रकाशित

झापा । के तपाईं अहिलेसम्म झापामा मादक पदार्थ सेवन गरेर सवारी चलाएका बेला केही रुपैयाँ जरिमाना तिरेर छुटकारा पाउनु भएको छ ? अब तपाईंले मादक पदार्थ सेवन गरेर सवारी चलाएको बेला प्रहरीको चेकजाँचमा पर्नुभयो भने संभावित दुर्घटनाबारे ट्राफिक प्रहरीबाट अब तपाईंले कक्षा लिनुपर्नेछ।

कक्षा नलिइकन सवारी साधन तथा सवारी साधनका कागजात पाइने छैन। काठमाडौं उपत्यकामा यो नियम पहिलादेखि नै लागू भए पनि झापामा शुक्रबारदेखि कडाइका साथ लागू गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताएका छन्।

जिल्ला प्रशासन कार्यालय झापाको विशेष निर्देशन जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले त्यस्तो व्यवस्था गरेको हो।

प्रत्येक सवारी साधनका चालकलाई थाह छ, मादक पदार्थ सेवन गरेपछि मानिसको चेत बेकामे हुन्छ र सवारी दुर्घटनाको जोखिम बढेर जान्छ ।

ट्राफिक प्रहरीका अनुसार सवारी साधन दुर्घटनाका कारणमध्ये मानवीय कारण नै प्रमुख छन् । मानवीय कारणमध्ये मादक पदार्थ सेवन गरेर सवारी साधन चलाइनु प्रमुख मानिन्छ ।

काठमाडौं उपत्यका लगायत देशका अन्य प्रमुख शहरमा मापसे गरेर सवारी साधन चलाउनेलाई संभावित दुर्घटनाबारे सचेत गराउने हिसाबले प्रहरीले दिने कक्षामा सामेल गराएर मात्र सवारी साधन तथा सवारी साधनका कागजात दिने चलन छ । अब त्यो चलन झापामा पनि शुक्रबारदेखि लागू भएको छ ।

त्यस्ता कक्षा झापाको दमक र बिर्तामोडमा कम्तीमा साताको एक दिन सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी रिजालले ट्राफिक प्रहरीलाई निर्देशन दिनुभयो।

मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउँदा अनेकौं मानिसको ज्यान जाने, परिवारका सदस्य गुमाउनु पर्ने तथा अंगभंग हुने भएकाले सचेत हुन सवारी चालकहरूलाई उहाँले आग्रह गर्नुभएको छ ।

मापसे गरेर सवारी साधन चलाउनेको सवारी चालक अनुमति पत्र निलम्बनदेखि खारेज गर्नेसम्मको अधिकार यातायात व्यवस्था विभागलाई छ ।

तर झापामा मापसे गरेर सवारी साधन चलाउनेलाई सामान्य जरिमाना गर्ने बाहेक अन्य कारबाही भएको पाइँदैन।

यातायात व्यवस्था कार्यालय बिर्तामोडका प्रमुख हरिप्रसाद लामिछानेका अनुसार मापसे गरेर सवारी साधन चलाउने परिपाटी कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषय कार्यालय प्रमुखहरूको बैठकमै उठेको थियो ।

झापामा चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुँदा चालु आर्थिक बर्षमा ११ जनाको मृत्यु भइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक अशोककुमार जबेगुले बताउनु भयो।

उनका अनुसार चालकले मापसे गरेरै सवारी चलाएर दुर्घटना हुँदा २ सय २४ जना गम्भीर घाइते भएका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here