महेन्द्र पार्क सरसफाइ गर्न पुगेका राजावादी समूहलाई प्रशासनको रोक, भद्रपुर तनावग्रस्त


२२ जेष्ठ २०७९, आईतवार ०७:०६ मा प्रकाशित

झापा । झापाको भद्रपुरमा २०६२/६३ को जनआन्दोलनका बेला आन्दोलनकारीले भत्काएको राजा महेन्द्र शाहको शालिक राख्न पार्क सरसफाइ गर्ने विषयमा शनिबार तनाव भएको छ।

शालिक राख्ने समूह र सुरक्षाकर्मीबीच घम्साघम्सी पनि भएको छ।

शनिबार समूहमा पुगेका राजा महेन्द्र शाह शालिक पुनर्स्थापना समितिलाई भद्रपुर- ८ स्थित महेन्द्र पार्क प्रवेशमा सुरक्षाकर्मीले रोक लगाएको हो।

सुरक्षाकर्मीले समितिका संयोजक सञ्जीव मैनालीसहितको टोलीलाई पार्कको मुख्य प्रवेशद्वारमै रोकेपछि दुई घण्टासम्म भद्रपुरको स्थिति तनावपूर्ण बनेको थियो।

पार्कभित्र राजा महेन्द्रको अर्धकदको शालिक राख्ने समितिको पूर्वघोषित कार्यक्रमअनुसार शनिबार दिउँसो १ बजे र्‍यालीसहित पार्कभित्र सरसफाइ गर्न उनीहरू त्यहाँ पुगेका थिए।

राष्ट्रिय झन्डा, ब्यानरसहित हातमा कुचो बोकेर पुगेका उनीहरूलाई सुरक्षाकर्मीले पार्कभित्र प्रवेश गर्नबाट रोक लगाएको थियो।

सुरक्षाकर्मीले उनीहरूलाई सडकमै रोकेको थियो। पार्कभित्र प्रवेश गर्न नपाएपछि उनीहरू विरोध प्रदर्शनमा उत्रिए। उनीहरूले सडक नै अवरोध गरी स्थानीय सरकार र प्रशासनविरुद्ध चर्को नाराबाजीसमेत गरेका थिए।

भद्रपुर नगरपालिकाको स्वामित्वमा रहेको महेन्द्र पार्कमा कुनै पनि गतिविधिलगायतका काम गर्न नगरपालिकासँग समन्वय र सहकार्य गरेर अघि बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय झापामा शुक्रबार बसेको सर्वपक्षीय बैठकले निर्णय गरेको थियो।

तर, प्रशासनको निर्णय विपरीत पार्क सरसफाइ गर्न उनीहरू त्यहाँ पुगेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here